बागमतीका मुख्यमन्त्रीको सपथ साढे ३ बजे, कुन मन्त्रीलाई कुन मन्त्रालय तोकियो ?

  • प्रकाशित मिति : २०७८ कार्तिक ११, बिहीबार
  • chhanbin.com

नेकपा(एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन्। एमाले विभाजनपछि अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि गठबन्धन दलको सहयोगमा पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन्।

प्रदेश प्रमुख कार्यालयले साढे ३ बजे बागमती प्रदेशका नयाँ मुख्यमन्त्री पाण्डेको सपथग्रहणको तयारी गरिएको छ। उनले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्दैछन्। पाण्डेसहित तीन मन्त्रीले सपथ लिने बताइएको छ।

एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कांग्रेसका कृष्णलाल भँडेल भौतिक पूर्वाधार र माओवादी केन्द्रकी कुमारी मोक्तान सामाजिक विकासमन्त्री बन्ने भएका छन्।

प्रदेश प्रमुख कार्यालयले बिहीबार अपराह्न ३ बजेसम्म सरकार गठनका लागि दाबी पेश गर्न समय दिएको थियो। तर, एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले गठबन्धन दलका ५९ सांसदको हस्ताक्षरसहित बुधबार नै सरकार गठन गर्न दाबी पेश गरेका थिए।

१०९ सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५५ सांसदको समर्थन आवश्यक हुन्छ। पाण्डेसँग एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२ र जनता समाजवादी पार्टी (जसपा) का १ गरी ५९ प्रदेश सांसदको समर्थन छ।