ओलीलाई बिर्साउने गरि देउवाले राजश्व र सम्पत्ति शुद्धीकरणमा यसरी चलाए सेटिङ

  • प्रकाशित मिति : २०७८ कार्तिक ११, बिहीबार
  • chhanbin.com

ओली सरकारले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयको मातहत राखेपछि नेपाली कांग्रेसले त्यतिबेला विरोध गरेको थियो ।

प्रधानमन्त्रीले शक्ति केन्द्रीकरण गरेको र त्यसको दुरुपयोगको आशंका कांग्रेसको थियो । तर, अहिले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि ओलीले गरेका ती ‘गलत’ कामलाई नै निरन्तरता दिएको छ ।

सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयकै मातहत राखिएको छ । यसले पनि देउवा सरकारको नियत प्रष्ट हुन्छ ।

अर्थ मन्त्रालय कांग्रेसको रहेको र सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धानलाई अर्थ मातहत राख्दा आफ्नो पावर कम हुने भएकाले पनि त्यसमा प्रधानमन्त्रीले अनिच्छा देखाएको स्रोत बताउँछ ।

दुवै विभागमा सेटिङका आधारमा महानिर्देशक परिवर्तन गरिएको छ । सम्पत्ति शुद्धीकरणमा प्रेमप्रसाद भट्टराईलाई लगिएको छ । उनी विभागका पूर्व महानिर्देशक रुप नारायण भट्टराईका भाई हुन् ।

रुप नारायण हुँदादेखिको मुद्दाको सेटिङ मिलाउन एउटा ठूलो गिरोहले उनलाई त्यहाँ लगेको स्रोत बताउँछ । विभागमा उच्च पदस्थ व्यक्तिहरुमाथि अनुसन्धान चलिरहेको छ । अनुसन्धान हुने तर मुद्दा नचल्ने प्रवृत्ति विभागमा बढ्दै गएको छ ।

अर्काे शक्तिशाली निकाय राजश्व अनुसन्धान विभागमा पनि हालै महानिर्देशक परिवर्तन गरिएको छ । रामप्रसाद आचार्यलाई केही महिनामै हटाएर प्रकाश पौडेललाई लगिएको छ । कांग्रेस निकट सहसचिवका रुपमा चिनिएका पौडेललाई पनि सेटिङमै त्यहाँ पठाइएको स्रोत बताउँछ ।