धनगढी पुगेर माधवले ओलीलाई हाने घुँएत्रो, ओली सनकको चिरफार गर्दै नेपालले यसरी दिए दनक

  • प्रकाशित मिति : २०७८ कार्तिक ११, बिहीबार
  • chhanbin.com

परमादेश दिने सर्वोच्च अदालतका पाँचै न्यायाधीशलाई निकाल्नुपर्ने केपी शर्मा ओलीको भनाइ रिस साध्नलाई मात्र भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनाएका छन्।

धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सबै न्यायाधीश निकाल्नुपर्ने ओलीको भनाइ प्रणाली भत्काउने प्रवृत्तिको उपज भएको बताए। ९ कात्तिकमा एमालेका सबै स्थानीय तहको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले परमादेशका कारण यो अवस्था आएको जिकिर गर्दै पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए।

त्यस सम्बन्धी सोधिएको प्रश्नमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, “उहाँले आफ्नो रिस साध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै हुनुहुन्छ। यो उहाँको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो।”

मन्त्रिपरिषद्‍मा भाग खोजेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोध हुँदै आएको छ। सर्वोच्च अदालतका न्यायाधीश र नेपाल  बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका छन्।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरूलाई हटाउने कुरा नाजायज र अनुचित भएको बताए। “केपी ओलीजीले साराथोक बिगार्नुभएको छ, न्यायपालिकालाई अनावश्यक रूपमा लाञ्छना लगाउने काम गर्दै आउनुभयो,” नेपालले भने। न्यायपालिकालाई स्वतन्त्र ढङ्गले काम गर्न दिनुपर्ने उनको भनाइ थियो।

प्रधानन्यायाधीश जबराका विषयमा सत्तारुढ गठबन्धनमा छलफल नभएको पनि नेपालले बताए। “महाअभियोगको विषय प्रवेश नै गरेको छैन, छलफलै भएको छैन,” उनले भने।

एक अर्को प्रश्नमा नेपालले आगामी चुनावमा एमाले बाहेकका पार्टीसँग तालमेल गरिने बताए। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त सदस्यका लागि हुने उपनिर्वाचनमा अन्य दलसँग तालमेल गर्ने उनको भनाइ थियो।