यी हुन् बीमा गर्नु अघि ध्यान दिनै पर्ने कुराहरु

  • प्रकाशित मिति : २०७८ कार्तिक १०, बुधबार
  • chhanbin.com

बीमा, मानव जीवनमा आइपर्ने जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्नेमध्येको एक महत्त्वपूर्ण उपकरण हो।

बीमा गर्नुअघि आफूलाई आवश्यक पर्ने बीमाको प्रकार यकिन गरी त्यससँग सम्बन्धित प्रस्ताव फारममा खुलाउनुपर्ने हुन्छ। सम्पूर्ण विवरणहरू स्पष्टसँग खुलाई भर्नु पर्दछ। बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त सुविधाका बारेमा जानकारी लिएर मात्र बीमा गर्नु पर्दछ।

बीमितले आफ्नो पेशा, व्यवसाय तथा आर्थिकस्तर समेतलाई ध्यानमा राखेर बीमालेख खरीद गर्नु पर्दछ।

बीमा शुल्क बुझाउने तथा बीमालेख नवीकरण गर्ने मिति, इच्छाइएको व्यक्तिको नाम, बीमालेखबापत रकम पाउने, नपाउने जस्ता विषयमा बीमालेख खरीद गर्नुअघि नै राम्रोसँग बुझ्नु पर्दछ। बीमितले बीमाशुल्क बुझाएपछि त्यसको आधिकारिक भर्पाई वा रसीद लिनु पर्दछ।

बीमासम्बन्धी प्रस्ताव फारम बीमित स्वयंले भर्नु पर्दछ। यदी बीमित निरक्षर वा प्रस्ताव फारम भर्न असमर्थ भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नु पर्दछ।

बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीका बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नु पर्दछ। बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमा नै बीमालेख नवीकरण गर्नु पर्दछ।

बीमासम्बन्धी प्रचलित नीति नियमहरू तथा कानूनका बारेमा जानकारी राख्नु पर्दछ। बीमितले आफूले खरीद गरेको बीमालेखसम्बन्धी सम्पूर्ण कागजातहरू सुरक्षित राख्नु पर्दछ।

हाल प्रविधिको विकाससँगै विभिन्न बैङ्किङ प्रणाली तथा डिजिटल भुक्तानी पोर्टलमार्फत घरबाट नै बीमाशुल्क बुझाउन सकिने भएकाले त्यस सम्बन्धमा राम्रोसँग जानकारी लिएर मात्र भुक्तानी गर्नु पर्दछ।

बीमितले आफ्नो आवश्यकता र आम्दानीको स्रोतलाई ध्यानमा राखेर मात्र बीमा गर्नु पर्दछ। अन्यथा रकमको अभावमा तोकिएको समयावधिसम्म बीमालेखलाई नवीकरण गर्न नसकेर सरेण्डर गर्नुपर्ने अवस्था आउन सक्छ।

बीमाबाट हुने आर्थिक रक्षावरण:

बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानीविरूद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ। जीवन बीमा गर्दा बीमालेखको अवधि समाप्त भएपछि बीमितले बोनससहित एकमुष्ठ रकम प्राप्त गर्दछ।

यदी बीमालेखको अवधि समाप्त हुनुअघि नै बीमितिको मृत्यु भएमा निजको कानूनी हकदारलाई बीमाको रकम प्राप्त हुन्छ।

निर्जीवन बीमाले मानिसको स्वास्थ्यका साथै पालन गरिएका पशुपन्छी, बालीनाली, घर, भवन, व्यवसायलगायतका सम्पत्तिमा भविष्यमा हुने क्षतिका विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ।

भविष्यमा दुर्घटनाबाट निजी तथा व्यवसायिक सवारी साधनमा हुने क्षति विरूद्ध मोटर बीमाले आर्थिक रक्षावरण गर्दछ।