पहिलो महिला मुख्यमन्त्री बनेकी अष्टलक्ष्मीलाई धक्कै-धक्का, अब पाण्डे मुख्यमन्त्री पक्का

  • प्रकाशित मिति : २०७८ कार्तिक १०, बुधबार
  • chhanbin.com

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्। नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेकी शाक्यले आफ्नो सरकार अल्पमतमा परेपछि बुधबार पदबाट राजीनामा दिएकी हुन्। शाक्यले बागमती प्रदेश सभामा राजीनामा घोषणा गरेकी हुन्।

प्रदेश सभामा उठेका प्रश्नलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजनीतिलाई संस्कारयुक्त कदमको शुरूवात आफूबाट गर्न राजीनामा गरेको बताइन्। उनले प्रदेश सभा सचिवालयमा विश्वासको मत नपाउने पक्का भएपछि मत विभाजनको बाटो रोज्नुभन्दा मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताइन्।

प्रदेश सभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्न बाटो खुला गरिदिन पनि आफूले राजीनामा दिएको शाक्यले बताइन्। अब प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकार गठन हुने भएको छ। उनको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी लगायत दलको सहभागितामा बागमती प्रदेश सरकार गठन हुन लागेको हो।

शाक्यको विश्वासको प्रस्तावमा आज प्रदेश सभामा मत विभाजन गरिने कार्यतालिका थियो। प्रदेश सभा बैठकमा विश्वासको मत विभाजन गर्न सबै तयारी पूरा भए पनि शाक्यले नयाँ सरकार गठन गर्न बाटो खोलिदिएकी हुन्।

४ कात्तिकमा सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सारेका थिए।

प्रदेश सभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् । विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन्।

त्यस बाहेक विवेकशील साझाका तीन, नेपाल किसान मजदूर पार्टी र राप्रपाका दुई जना छन्। विश्वासको मतका लागि ५५ सांसदको समर्थन चाहिन्छ। विश्वासको मतका लागि आवश्यक सङ्ख्या नपुग्ने भएपछि नयाँ सरकार गठन सहज पार्न पनि राजीनामा दिएको शाक्यले बताइन्।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बढाउने निर्णय गरिसकेको छ। बागमती प्रदेशमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ।

शाक्य २ भदौमा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्। बागमती प्रदेशको प्रदेश सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताए।