राणाविरुद्ध किन ‘आफ्ना’ नै खनिए ? यी हुन् राणालाई किक हान्ने उनकै बिश्वासपात्र न्यायाधिश

  • प्रकाशित मिति : २०७८ कार्तिक १०, बुधबार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यतिखेर सर्वोच्च अदालतभित्रै एक्लिएका छन्। जबराविरुद्ध सर्वोच्चका अधिकांश न्यायाधीशहरुले मोर्चाबन्दी गरेका छन्। त्यसैगरी, पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, नेपाल बार एसोसिएसन, सर्वोच्च बारलगायत पनि जबराको विरुद्ध उभिएका छन्। उनीहरुले प्रधानन्यायाधीशले अबिलम्ब राजीनामा दिनुपर्ने माग गरेका छन्।

सर्वोच्च अदालतकै सहकर्मी न्यायाधीशहरुले त प्रधानन्यायाधीशलाई बहिष्कार गर्ने अभ्यास नै अघि बढाएका छन्। प्रधानन्यायाधीश जबराले तोकेका इजलासमा नबस्ने मात्र होइन, जबराविरुद्ध समानान्तर बैठक आयोजना गर्ने काम उनीहरुले निरन्तर गरिरहेका छन्। रोचक त के भने चौतर्फी घेराबन्दीबीच एक्लिएका प्रधानन्यायाधीश जबरालाई हिजो उनका ‘आफ्ना’ भनेर चिनिएका निकट न्यायाधीशहरुले नै साथ छाडेका छन्।

विगतमा आफूनिकट भनेर चिनिएका न्यायाधीशहरुसँग मिलेर कैयौं विवादास्पद फैसला सुनाएका जबराले यो संकटको घडीमा उनीहरुको पनि साथ पाएका छैनन्।

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी प्रधानन्यायाधीश जबरानिकट भनेर आम रुपमै चिनिएका न्यायाधीश हुन्। उनी पनि प्रधानन्यायाधीश केन्द्रमा रहेको सर्वोच्च अदालतको विवादबाट बाहिर देखिएका छन्। दशैं बिदा मनाउन घर गएका उनी अहिलेसम्म अदालतमा हाजिर भएका छैनन्। अर्का न्यायाधीश सपना प्रधान मल्ल बिदा लिएर खप्तड घुम्न गएकी छन्। न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिकामा छन्। अन्य न्यायाधीश भने सर्वोच्चमै बहुमत न्यायाधीशको समूहमा सामेल भएर प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका छन्।

थुप्रै विवादित फैसलासँगै संवैधानिक परिषद्‌मा हिस्सा मागेको भनेर प्रधानन्यायाधीश आरोपित र विवादित बन्दा मौन रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु पछिल्लो पटक प्रधानन्यायाधीशले सत्तामा समेत भागबन्डा लिएको विषय बाहिरिएपछि उनीविरुद्ध उभिएका हुन्।

यो अभियानमा प्रधानन्यायाधीशको समूहमा रहेका भनिएका न्यायाधीशको पनि ऐक्यबद्धता छ। उनीनिकट भनिएका मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल पनि अहिले प्रधानन्यायाधीशको विरुद्धमा उभिएका छन्।

अधिवक्ता टीकाराम भट्टराई प्रधानन्यायाधीशको साथमा रहेका भनिएका न्यायाधीशहरु पनि समग्र परिस्थिति बुझेर पछि हटेको हुन सक्ने बताउँछन्। उनले चारवटा कारण प्रस्तुत गर्दै अहिले प्रधानन्यायाधीशको समूहमा रहेकाले साथ छोडेको हुन सक्ने बताए।

‘प्रधानन्याायधीशसँग बसेर गरिएका फैसलाका सम्बन्धमा बाहिर आएका टिप्पणीहरुपछि उहाँहरु अब गलत गरिएको छ कि भन्ने निष्कर्षमा पुग्नुभयो होला,’ उनले भने, ‘अब आउने नेतृत्वसँग सहकार्य नगर्दा उहाँहरुको आफ्नो बाँकी सेवाअवधिमा पनि प्रतिकूल असर पर्ने महशुस पनि गर्नुभयो होला।’
अधिवक्ता भट्टराईले विगतमा जेसुकै कमीकमजोरी गरे पनि भविष्यमा सुधार्छु भन्ने लागेर पनि गलतलाई साथ नदिएको हुनसक्ने आकलन गरे।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भने प्रधानन्यायाधीशलाई साथ दिने भनिएकाहरु कुनै विचार र दर्शनबाट प्रेरित नभइ स्वार्थका लागि बनेको समूह भएको टिप्पणी गर्छन्।

‘हिजो साथ दिएका भनिएकाहरु विचार र दर्शनले उहाँसँग रहेका होइनन्, प्रधानन्यायाधीशले नै गुट तयार गर्नुभएको थियो। त्यसमार्फत् सेटिङको मुद्दा या आफ्नो बेन्चमा या त उनीहरुको बेन्चमा राखेर परिणाम निकाल्नु हुन्थ्यो,’ उनले भने, ‘अहिले त जहाज डुब्न लागेको देखेर उनीहरुले साथ छोडेका हुन्। सैद्धान्तिक कारण त केही थिएन, त्यो अवसरवाद थियो र उनीहरुले त्यो गरे।’

प्रधानन्यायाधीश जबरा आफैं आफ्नो प्रतिरक्षा गर्न नसक्ने स्थितिमा पुगिसकेपछि अरुले प्रतिरक्षा गर्न सक्ने अवस्था नरहने उनी बताउँछन्।

‘प्रधानन्यायाधीश नै नरहने अवस्था आइसकेपछि उहाँलाई साथ दिएर फाइदा हुने त देखिन्न,’ उनी भन्छन्, ‘त्यसैले पनि साथ नदिएको अवस्था हो। सबैले आफ्नो संरक्षण खोज्ने न हुन्।’ उनले प्रधानन्यायाधीशले गैरन्यायिक आचरण प्रस्तुत गरेको र संविधान, कानुनको पनि हेक्का नराखेको भन्दै राजीनामा मात्रै विकल्प भएको बताए।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल पनि अहिलेको अवस्थामा प्रधानन्यायाधीशलाई साथ दिएर सम्भव हुने नदेखेपछि आफ्नै भनिएका न्यायाधीशहरुले साथ छाडेको बताउँछन्।

आइतबारदेखि इजलास नै बहिष्कार गरेर सर्वोच्चका लगभग सबै न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा मागिसकेका छन्। विवाद उत्कर्षमा पुगेर चौतर्फी रुपमा राजीनामाको माग उठे पनि प्रधानन्यायाधीश भने आफ्नो अडान भन्दा बाहिर गएका छैनन्। बुधबार पनि जबराले ११ वटा इजलास तोके। उनले आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास तोके। उनले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोके। त्यस्तै, आफ्नो एकल इजलास पनि तोके। अन्य न्यायाधीशहरुका लागि नौ वटा इजलासमा पेसी तोके।

न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र कुमार चुडाल, टंकबहादुर मोक्तान र कुमार रेग्मी, प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलास प्रधानन्यायाधीशले तोके।

अरु न्यायाधीशले इजलास बहिष्कार गरेपनि प्रधानन्यायाधीश राणाले भने आफ्नो बेन्चमा सुनुवाइ गरेका छन्। पाँच मुद्दाको सुनुवाइ गरेका उनले दुई मुद्दामा कारण देखाऊ आदेश जारी गरे। एउटालाई तामेलीमा पठाउने, एउटाको निवेदन फिर्ता हुने एक मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश गरे।

सर्वोच्चका १५ न्यायाधीशहरु प्रधानन्याधीश जबराको राजीनामाको पक्षमा छन्। जबरा सर्वोच्चमा एक्लो भएपनि उनले आफूले राजीनामा नदिने बताएका छन्।