प्रधानन्यायाधीश नगलेपछी सर्वोच्चका न्यायाधीशहरु फेरि छलफलमा, राणा हटाउन नयाँ जुक्ति निकाल्ने

  • प्रकाशित मिति : २०७८ कार्तिक ९, मंगलवार
  • chhanbin.com

सर्वोच्च अदालतका न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटवार्ता गरेपछि न्यायाधीशहरु सामूहिक छलफलमा जुटेका हुन् ।

उनीहरुले विवादमा घेरिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग केहीबेर छलफल गरे । उनीहरुले प्रधानन्यायाधीशलाई राजीनामाका लागि आग्रह गर्ने बताइएको थियो । तर भेटपछि फेरि उनीहरु सामूहिक छलफलमा बसेका छन् । सोमबार प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेर सामूहिक छलफल गरेका न्यायाधीशहरुले मंगलबार राणासँग भेटवार्ता गरेका हुन् ।

सोमबार इजलास बहिष्कार गरेका न्यायाधीशहरुले त्यो क्रम मंगलबार पनि जारी राख्ने सम्भावना छ । राणाले पेशी तोकेका छन् । तर मुद्दाको सुनुवाई भने अनिश्चित छ ।

यसैबिच नेपाल बार एसोसिएसनको सल्लाहकार परिषदको बैठक मंगलबार बस्दैछ । सो बैठक मार्फत नेपाल बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने तयारी गरेको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार नै राणाको राजीनामा माग गरिसकेको छ । प्रधानन्यायाधीश राणा न्यायपालिकाको नेतृत्व गर्न असफल रहेको भन्दै सर्वोच्च बारले मार्गप्रशस्त गर्न आह्वान गरेको हो ।

यस्तै सोमबार नै संयुक्त विज्ञप्ति निकालेर चार पूर्वप्रधानन्यायाधीशहरुले राणाको राजीनामा माग गरेका थिए । पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी, अनुपराज शर्मा र सुशीला कार्कीले न्यायालयमा अहिलेको समस्याग्रस्त अवस्थामा आउनुमा प्रधानन्यायाधीश राणा जिम्मेवार रहेको भन्दै राजीनामा माग गरेका हुन् ।

अघोषित रुपमा इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका सर्वोच्चका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन आग्रह गरेका हुन् ।

तर जवाफमा प्रधानन्यायाधीश राणाले सडकबाट राजीनामा माग्दैमा आफूले पद नछोड्ने स्पष्ट पारेका हुन् ।

स्रोतले भन्यो, ‘न्यायाधीशहरुले तपाईँका विषयमा धेरै प्रश्न आयो । विवाद झन फैलिने भयो । राजीनामा दिनुस् भन्नुभयो । जवाफमा प्रधानन्यायाधीशले सडकबाट राजीनामाको माग आउँदैमा आफूले नदिने बताउनु भयो ।’