यी १९ वाणिज्य बैंकले पहिलो त्रैमासमा बढाए निक्षेप, ८ बैंकको निक्षेप घट्यो (सुची सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक ८, सोमबार
  • chhanbin.com

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजूद साउन असोज अवधिमा १९ बैंकले निक्षेप बढाएका हुन् ।

सोही अवधिमा ८ बैंकको निक्षेप भने घटेको छ । ३ महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुले समग्रमा कुल ६३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप थपेका छन् । जसमा स्वदेशी मुद्रामा जम्मा ३४ अर्ब ६८ करोड रुपैयाँ थपिएको हो ।

चालू आवको असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । जबकी असार मसान्तसम्म बैंकहरुको को कुल निक्षेप ४२ खर्ब ४ अर्ब रुपैयाँ थियो ।

समीक्षा अवधिमा सनराइज बैंकले सबैभन्दा धेरै २१ अर्ब ९० करोड रुपैयाँ निक्षेप थपेको छ । असोजमा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै १०.०७ प्रतिशत ब्याज घोषणा गरेको बैंकले आक्रमक रुपमा निक्षेप संकलन गरेको हो ।

यसैगरी, सानिमा १३ अर्ब, एनसीसी र एनआइसी एसिया ११ अर्ब, नेपाल १० अर्ब, कुमारी र एनएमबी बैंकले पनि ९ अर्ब बढी निक्षेप बढाएका छन् । पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै २४ अर्बले निक्षेप घटेको छ । यसैगरी, कृषि विकास र नेपाल बंगलादेश बैंकको ९ अर्बबढी निक्षेप घटेको छ भने ग्लोबल आइएमईको ३ अर्ब बढीले घटेको छ ।

संघका अनुसार पहिलो त्रैमासमा बैंकहरुले ६३ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्म २७ बैंकले कुल ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा असोज मसान्तसम्म आउँदा ३९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।