प्रधानन्यायाधीशलाई छिर्के हान्न आफ्नैले थापे पासो, फुलकोर्ट बहिष्कार गर्न आज पनि चल्यो कानेखुसी

  • प्रकाशित मिति : २०७८ कार्तिक ८, सोमबार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कामकारबाहीले सिंगो न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटेका छन्।

मन्त्रिपरिषदमा भाग खोज्नेलगायत विषयमा विवादित प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने वा उनलाई महाअभियोग लगाउनुपर्नेबारे न्याय क्षेत्रमा आवाज उठ्न थालेपछि सर्वोच्च अदालतका न्यायाधीशले आफूहरू मौन बस्न नहुने र एउटा निर्णय लिनुपर्ने निष्कर्ष निकाल्दै निरन्तर छलफलमा छन्।

शुक्रबारदेखि सुरू भएको छलफललाई उनीहरूले आज पनि निरन्तरता दिएका थिए। यसैबीच केही बेरमा आफूहरू बैठक बसेर निर्णय गरेपछि प्रधानन्यायाधीशलाई भेट्न जाने तयारी भएको एक न्यायाधीशले जानकारी दिए।

‘अहिले केही बेरमा हाम्रो छलफल सुरू हुँदैछ। छलफल सकेर प्रधानन्यायाधीशलाई जाने निर्णय भएको छ’, ती न्यायाधीशले भने।

आइतबारको छलफलमा उनीहरूले प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिस्कार गर्ने निर्णय गरेसँगै आजका लागि भनिएको फुट कोर्ट स्थगित भएको छ।

आइतबार न्यायाधीशहरू दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले सामुहिक बैठक बसेर प्रधानन्यायाधीले बोलाएको फुल कोर्टमा नजाने निर्णय गरेका थिए।

सर्वोच्चमा २१ न्यायाधीश रहने संवैधानिक व्यवस्था छ तर अहिले २० जना मात्र छन्। बाँकी पाँच जना आइतबार अदालतमा उपस्थित थिएनन्। न्यायाधीश ईश्वर खतिवडा अमेरिका गएका छन् भने अनिल सिन्हा र सपना मल्ल प्रधान सुर्खेतमा छन्। त्यस्तै, न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडाल पनि विदामा छन्।

आइतबारको छलफलमा उपस्थित १४ मध्ये कतिपय सर्वोच्चभित्र प्रधानन्यायाधीश राणाकै निकटतम भनिएका न्यायाधीश पनि थिए।

यसरी फुलकोर्ट बहिष्कार गर्ने निर्णयसँगै सर्वोच्चका १४ जना न्यायाधीशले सोमबार ११ बजेदेखि प्रधानन्यायाधीशका कामकारबाहीबारे आफ्नो छलफललाई निरन्तर दिन लागेका हुन्। छलफल सकिएपछि प्रधानन्यायाधीशलाई भेटेर कुरा गर्ने भएका छन्।