दोहोरो अंकले नेप्से बढ्दा मालामाल भएका यी हुन् सात कम्पनी, कति भयो कारोबार ?

  • प्रकाशित मिति : २०७८ कार्तिक ७, आईतवार
  • chhanbin.com

सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । दिनभर उतरचढाव देखिएको बजार अन्त्यमा दोहोरो अंकले बढेर बन्द भएको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेन । आज करिब पौने ३ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सेयर बजार मापक सूचक नेप्से आज २७.६० अंकले बढेर २५८४.६० विन्दुमा पुगेको छ । यसदिन २२५ कम्पनीको २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३६ रुपैयाँ बराबरको ५८ लाख १८ हजार २५ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.११ प्रतिशतले बढेको छ व्यापार समूह १.०७ प्रतिशतले घटेको छ ।

आज आइसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै १६ रुपैयाँको कारोबार भएको छ । यस्तै, एनआइसी एशिया बैंक ९ करोड र अरुण भ्याली साढे ८ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बेस्ट फाइनान्स र रिडी हाइड्रोपावर कम्पनीको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यस्तै, रिलायन्स फाइनान्स, वरुण हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त र सर्पोट माइक्रोफाइनान्सका सेयरधनीले ८ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

बढ्दोे बजारमा आज मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।