जसपा र समाजवादीले टुंगो लगाए मन्त्रीको नाम, कांग्रेसमा अझै लफडा

  • प्रकाशित मिति : २०७८ आश्विन २२, शुक्रबार
  • chhanbin.com

सत्तारुढ गठबन्धन दलबीच सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री पाएकाे छ । मन्त्रालयको टुंगो लागेसँगै एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम समेत टुंगो लगाएको छ ।

यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दावी गरेको सो पार्टीले दुई मुख्मन्त्री पाउने भएसँगै संघीय सरकारमा चार मन्त्रालयमा सहमत भएको हो । एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास मन्त्रालय र एक राज्यमन्त्री पाएका छन् ।

गठबन्धन दलबीच एकीकृत समाजवादीलाई प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दिने सहमति भएको छ । सो अनुसार प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । अहिले यी दुवै प्रदेशमा अल्पमतको सरकार छ ।

एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । यस्तै, भवानी खापुङ र कृष्णकुमार श्रेष्ठमध्ये एक जनालाई राज्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गरेको छ । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले शुक्रबार बिहान मन्त्रीहरूको नाम तय गरेका हुन् ।

एक नेताका अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई सरकारमा पठाउने तय गरिएको छ ।

पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने भन्नेमा मन्त्री चयनका क्रममा नेताहरूबीच सहमति जुटाउन समय लागेको ती नेताले जानकारी दिए ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।