एमालेलाई घोक्रेठ्याक लगाउंदै आज बाट एकीकृत समाजवादीले सत्ताको स्वाद चाख्ने, छिर्के हनाईमा ओली

  • प्रकाशित मिति : २०७८ आश्विन २२, शुक्रबार
  • chhanbin.com

नेकपा एमालेबाट अलग भई माधवकुमार नेपालको समूहले गठन गरेको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट दलको मान्यता पाएको डेढ महिना पनि नपुग्दै शुक्रबार सत्तारोहण गर्दै छ।

दल दर्ताका लागि गत भदौ २ गते आयोगमा निवेदन दर्ता गराएको नेकपा एकीकृत समाजवादीले भदौ ९ गते प्रमाणपत्र पाएको थियो। झन्डै दुई तिहाइ बहुमत पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन प्रमुख भूमिका खेलेका माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी आज चार मन्त्रालयका साथ सत्तामा उक्लिँदै छ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच बिहीबार भएको सहमतिअनुसार शुक्रबार शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउँदै छ।

भागबन्डाअनुसार एकीकृत समाजवादीको भागमा स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय परेका छन्। साथै उसले एक जना राज्यमन्त्री पनि पाएको छ।

यति मात्र होइन, नेकपा एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पनि पाउँदै छ। गठबन्धनका दलबीच दुवै प्रदेश सरकार परिवर्तन गर्दै तिनमा एकीकृत समाजवादीका नेतालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो।

आफूबाट अलग भएर बनेको पार्टी सत्तामा जाँदै गर्दा कुनै बेला केन्द्रदेखि लगभग सबै प्रदेशमा सरकारको नेतृत्वकर्ता एमाले भने रित्तो हात हुने अवस्थामा आइपुगेको छ। केन्द्र सरकारबाट गत असार २९ गते नै बर्खास्त एमाले अब छिट्टै प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्वबाट पनि घोक्रेठ्याक लाग्दै छ।