प्रचण्डका अनुसार आजै सरकार बिस्तार हुने, को-को बन्ने भए मन्त्री ?

  • प्रकाशित मिति : २०७८ आश्विन १८, सोमबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबारै) मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको तीन महिना पुग्नै लाग्दा मन्त्रिपरिषद् विस्तार हुने प्रचण्डले गरेका हुन्।

मा‌ओवादीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथ खुवाउने तयारी भएको बताए।
‘क्याबिनेट विस्तार गरेर सकेसम्म आजै शपथ ग्रहण गराउने कुरो छ। भ्याइएन भने मन्त्रीहरुको आज टुंगो गरेर भोलिसम्म शपथ हुन्छ।’

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो ।

नेकपा (एकीकृत समाजवादी)का एक नेताहरुका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने निश्चित भएको छ । जसअनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

अध्यक्ष नेपालले सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिएका हुन् ।

त्यस्तै किसानकुमार श्रेष्ठलाई पनि ‘एडजस्ट’ गर्नुपर्ने भन्दै नेता नेपालले सात मन्त्री मागेको बुझिएको छ । एकीकृत समाजवादीलाई सात मन्त्री दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सातै मन्त्री दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल नेपाललाई सात मन्त्री दिन नसक्ने जवाफ दिएका छन् ।

यता माओवादी केन्द्र बाट हरिबोल गजुरेल,देबेन्द्र पौडेल, अमनलाल मोदी लगायतका सांसद मन्त्री बन्दैछन्। कांग्रेस बाट मीनेन्द्र रिजाल,गगन थापा र उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन्।