एससीटी नेटवर्कले ३३.३३% हकप्रद सेयर जारी गर्ने, पैसा जम्मा गर्न जेठ २४ सम्मको समय

  • प्रकाशित मिति : २०७८ बैशाख २६, आईतवार
  • chhanbin.com

काठमाडौं। प्रभु समूह, ग्लोबल आइएमइ बैंकले मूख्य सेयर लिएकव स्मार्ट च्वाइस टेक्नोलोजिजले हकप्रद सेयर वितरण गर्ने भएको छ। कम्पनीले भुक्तानी प्रदायकको काम गर्छ। यसले आफ्नो छुट्टै भुक्तानी कार्ड (एटीएम) पनि जारी गर्छ।

कम्पनीले ३३.३३ प्रतिशतका दरले आफ्ना सेयरधनीलाई सेयर दिएर पुँजी बढाउन लागेको हो। नयाँ समूह छिर्नुअघि कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ थियो।

दुई आर्थिक बर्षको साधारणसभा गरेर एक पटक ३० र अर्को पटक २५ प्रतिशतले बोनस सेयर दिएको छ।

दुई पटक बोनस सेयर वितरणपछि चुक्ता पुँजी २४ करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ। यसको ३३ प्रतिशत अर्थात ८ करोड ४ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागिएको हो।

कम्पनी आइतबार एक सुचना जारी गर्दै हकप्रद सेयर बापतको रकम जम्मा गर्न सेयरधनीलाई भनेको छ। हकप्रद जारी गर्ने निर्णय गत बैशाख १२ गते भएको हो। जेठ २४ गतेसम्म पैसा जम्मा गर्न भनिएको छ।

कम्पनीको अध्यक्षमा प्रभु म्यानेजमेन्ट प्रालिबाट कुसुम लामा छिन्। यसबाहेक सञ्चालकहरुमा दीपक बोहोरा, हिमालयन बैंकबाट उज्जवल राजभण्डारी, ग्लोबल आइएमइ बैंकबाट शान्ता शिवाकोटी, प्रभु बैंकबाट दीनेश थकाली, आइमइबाट रघुनाथ भण्डारी, स्वतन्त्रबाट शान्ताराज बतास छन्।