यो साता शेयर बजारका सबै महत्वपूर्ण सूचकहरु सकारात्मक

  • प्रकाशित मिति : २०७८ बैशाख २५, शनिबार
  • chhanbin.com

काठमाडौं । यो साता शेयर बजारका सबै महत्वपूर्ण सूचकहरु सकारात्मक रहे । देशका विभिन्न ठाउँमा कोभिडका कारण निषेधाज्ञा जारी गरिएपनि शेयर कारोबारमा भने कुनै प्रभाव परेको देखिएन । यो साता बजारमा उत्साजनक कारोबार भएको देखिन्छ ।

गत साताभन्दा यो साता कारोबार रकम रू. ६ अर्ब ६३ करोड ७५ लाख ५५ हजार बढी भएको छ । गत साता रू. २७ अर्ब ३३ करोड १६ लाख ७० हजार बराबरको ५ करोड ६५ लाख ८८ हजार २९४ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ३३ अर्ब ९६ करोड ९२ लाख २६ हजार बराबरको ७ करोड ५६ लाख ४ हजार ८८५ कित्ता शेयर कारोबार भएको हो ।

कारोबार रकमसँगै यो साता गत साताभन्दा नेप्से परिसूचक २६ दशमलव शून्य ३ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ६११ दशमलव १० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६३७ दशमलव १३ विन्दुमा पुगेको हो ।

शेयर बजार सकारात्मक रहदा सूचीकृत कम्पनीहरुको शेयरको कुल मूल्य अर्थात कुल पूँजीकरण रकम पनि रू. ३७ अर्ब ९३ करोड ६० लाख ४१ हजारले बढेको छ । यस साता नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ३६ खर्ब ५८ अर्ब ७६ करोड ४० लाख ३३ हजार पुगेको हो ।

गत साताको अन्तिम कारोबार दिन यो रकम रू. ३६ खर्ब २० अर्ब ८७ करोड २० लाख ९२ हजार थियो । नेप्से परिसूचकमा घटबढ भएपनि यो साता कारोबार रकमलाई हेर्दा लगानीकर्ताहरुको सक्रिय सहभागीता रहेको देखिन्छ ।

पूर्ण अनलाईन कारोबार प्रणालीमार्फत कारोबार गर्न सकिने गरी बजार सम्बद्ध पक्षहरुले बजार सञ्चालन गरिरहेका छन् । कारोबार देखि रकम भुक्तानीसँम्म अनलाईन मार्फत गरी कोभिडबाट सुरक्षित रहन पनि बजार सम्बद्ध पक्षहरुले लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।