जेठ २ गतेदेखि २० लाख कित्ता ऋणपत्र विक्री गर्दै एनएमबि बैंक

  • प्रकाशित मिति : २०७८ बैशाख २४, शुक्रबार
  • chhanbin.com

काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको “एनएमबि ऋणपत्र ८.५–२०८७/८८” नामको ऋणपत्र विक्री गर्न लागेको हो । प्रति ऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्र मध्य १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्य ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउँन लागेको हो । सार्वजनिक निष्कासनमा आउन लागेको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिनेछ ।

यस ऋणपत्र खरिदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा प्रयाप्त सुरक्षित रहेको संकेत गर्दछ ।

यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

बैंकले यो ऋणपत्र विक्रीका लागि बैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको हो । सोही दिन बैंकले ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको एनएमबि उर्जा ऋणपत्र विक्रीका लागि समेत बोर्डको स्वीकृति पाएको थियो । उक्त ऋणपत्र निष्कासनको मिति भने हालसम्म तय भएको छैन् ।