काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणको हकप्रद शेयर निष्कासनका प्रयोजनका लागि बैशाख २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पहिलो चरणमा ४७ प्रतिशत हकप्रद विक्री गरेको अपिले दोस्रो चरणमा २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद निष्कासनको मिति भने हालसम्म तय गरेको छैन् । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरिद गर्न सक्नेछन् ।
कम्पनीले दोस्रो चरणमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री गर्ने भएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । अपिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको छ । सोही पूँजीको आधारमा अपिले हकप्रद शेयर विक्री गर्न लागेको हो ।
यस वर्ष अपि पावरले ९ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ । कम्पनीले दोस्रो चरणमा विक्री गर्न लागेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ । अपिले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्य रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ ।