काठमाडौं। ईसेवाबाट नै मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिन सकिने भएको छ । कम्पनीले आज देखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाका कारण असहज भएपछि इसेवाबाट नै आईपिओमा आवेदन दिन सकिने ब्यबस्था गरिएको हो ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सिन्धुपाल्चोक मै स्थायी बसोबास गरिरहेका र डिम्याट खाता हुनेहरुले ईसेवाबाट नै आवेदन दिन सक्ने छन् । यसको लागि इसेवामा रहेको MBJCL – IPO (Local People) अप्सन छान्नु पर्ने छ । त्यस पछि सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नु पर्ने छ । त्यस्तै आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नु पर्छ । बैंकमा आउने भए बैंकको विवरण हाल्नु पर्छ । त्यसपछि प्रोसिड क्लिक गरि आवेदन दिन सकिन्छ। ईसेवाबाट भरेको भौचर भने ग्लोबल आईएमई क्यापिटललाई मेल मार्फत पठाउनु पर्ने छ ।
डिम्याट नभएकाको हकमा र बसाईसराई गरेका तर आईपिओमा आवेदन दिन योग्य रहेकाको हकमा भने आवेदन दिनको लागि अर्को ब्यबस्था गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज बेलुकासम्ममा क्यापिटलको वेबसाइट बाट नै डिम्याट नभएकाको हकमा र बसाईसराई गरेका तर आईपिओमा आवेदन दिन योग्य रहेकाले अनलाइन बाट नै आवेदन दिन सक्ने छन् ।
मध्य भोटेकोशीले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गरेका बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन हुने छ ।यस आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ।
त्यस्तै पहिलो चरणमा आईपिओ भरेका कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरूले भने यसमा आवेदन दिन पाउने छैनन् ।