काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते २७औं वार्षिक साधारण बोलाएको छ । कम्पनीको बैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।
सभाले प्रस्तावित कुल ६ दशमलव ७५ प्रतिशत लाभांश पारित गर्दै गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको फागुन ३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश सहित ७ दशमलव ७५ प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष १ प्रतिशत कम लाभांश दिन लागेको हो । सभाले प्राप्ती तथा मर्जर प्रकृया आवश्यक भएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।