काठमाडौं । बैशाख १७ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र कम्पनीले आईपीओ विक्री गर्न लागेको हो ।
छिटो अवधि बैशाख २१ गते भित्र माग बमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले ढिलोमा बैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो । कम्पनीको आईपीओमा सोमवार साझ ५ बजेसम्म मागभन्दा ९ दशमलव ८५ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार सोमवारसम्म १५ लाख ३६४ जना आवेदकहरुबाट २ करोड ३० लाख ७३ हजार २३६ कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणमा रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो । यसमध्य २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । कोभिड जोखिमलाई ध्यान दिदैं मेरो शेयर मार्फतनै आवेदन दिन सबै लगानीकर्ताहरुलाई नियामक निकायले सुझाब दिएको छ ।
२०७४ साल असार २७ गते आईपीओ निष्कासनका लागि आवेदन दिएको कम्पनीले करिब ४ वर्षपछि आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख २ गते अनुमति पाएको हो । हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ ।
कम्पनीद्वारा प्रबर्धित साङ्गे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना प्रबर्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ मा चुक्तापूँजी बृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पु¥याउने प्रक्षेपण गरेको छ ।
आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म यस कम्पनीले रू. ७ करोड ६६ लाख ६५ हजार खुद नाफा गरेको छ ।