काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएको छ । राष्ट्र बैंकले बैशाख १५ गते प्राप्तीका लागि सैद्धान्तिक सहमति प्रदान गरेको कम्पनीले जानकारी दिएको हो ।
यी दुई कम्पनीविच माघ ८ गते प्राप्ती सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेशनल माइक्रोफाइनान्सको केन्द्रिय कार्यालय धादिङमा र महिला सहयात्राको केन्द्रिय कार्यालय मकवानपुरमा रहेको छ ।
हाल ४३ वटा जिल्लाहरुमा ६५ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी रू. ३१ करोड ९४ लाख ९५ हजार रहेको छ । त्यस्तै १८ जिल्लाहरुमा कार्यक्षेत्र रहेको महिला सहयात्राको चुक्तापूँजी रू. १४ करोड ६४ लाख १० हजार रहेको छ ।
यस वर्ष महिला सहयात्राले १० प्रतिशत बोनस शेयर र नेशनल माइक्रोफाइनान्सले २१ प्रतिशत बोनस मार्फत पूँजी बढाएका हुन । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी विनियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम महिला सहयात्राको शेयर कारोबार माघ ९ गतेदेखि रोक्का भएको छ ।