काठमाडौं। विज्ञान तथा प्रविधिको निरन्तर विकासले मानिसहरूको जीवनलाई सहज र सरल बनाउँदैछ । हाल नेपालमा पनि यस्तै प्रविधिको विकासले धेरै सुविधाहरू भित्र्याएको छ । यस्को एउटा उदाहरण सरकारले आज बाट औपचारिक रुपमा सुरु गरेको नागरिक एप हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एपको औपचारिक शुभारम्भ गरेका हुन्। चौथो सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर प्रधानमन्त्रीले नागरिक एपको औपचारिक शुभारम्भ गरेका हुन् ।
प्रधानमन्त्री ओलीले यस एपको क्यूआर कोडबाट नेपाल बैंकमा खाता खोली एपको सुरुवात गरेको छन् । उनले यस एपबाट सूचना प्रविधिको उच्चतम उपयोग र सदुपयोगले सरकारी सेवा लाई पेपर लेस, फेस लेस बनाउदै आम नागरिकलाई कम समय र कम खर्चमा बिना झन्झट बिना हैरानी सहज, सरल, सुलभ रुपमा सेवा पुर्याउने बताए । उनले भने ‘सात वटै प्रदेशमा डाटा सेन्टरको स्थापना गर्ने अवधारणा छ र त्यही अनुरुप ललितपुरको खुमलटार र बाकेको कोहलपूरमा निर्माण सुरु भई सकेको छ ।’
समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार भन्ने नारा सहित चौथो सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले उक्त कार्यक्रम आयोजना गरेको थियो । सरकारी सेवाहरूको विद्युतिय प्रणली मार्फत घर मा नै अनलाइन बाट सेवा लिन सकिने सम्भव भएसम्म सम्पूर्ण सरकारी सेवाहरूलाई एउटै एप मार्फत उपलब्ध गराउने उद्देश्य सरकारले लिएको छ ।