सिइडिबी हाइड्रोको आईपिओमा ८ गुणा बढीको आवेदन, कतिले भरे शेयर ?

  • प्रकाशित मिति : २०७८ बैशाख १९, आईतवार
  • chhanbin.com

काठमाडौं। सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा ८ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आइतबार साँझ ५ बजेसम्ममा १२ लाख ११ हजार ३ सय ४० जना आवेदकबाट १ करोड ८८ लाख ६४ हजार ३ सय २६ कित्ताको लागि आवेदन परेको हो । जुन माग भन्दा ८.०५ गुणा बढी हो ।

कम्पनीले शुक्रबारदेखि सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख १८ हजार २ सय ३० कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ता मेरो शेयर तथा सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रबर्धित सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड नेपालको प्रचलित कानुन अन्तर्गत मिति २०६६÷०८÷१५ गतेका दिन नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला का. म. न. पा. वडा नं. ११, त्रिपुरेश्वरमा रहेको छ । हाल यस कम्पनीमा २६५ संस्थापक शेयरधनीहरु रहेका छन् ।

कम्पनीले कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ ।