काठमाडौं। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रुडेन्शियल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि आज बैशाख १९ गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो ।
कम्पनीको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको प्रति कित्ता शेयर मूल्य ७७१ कायम भएको छ समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८३३ थियो ।
कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा साधारणसभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १९ देखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ ।साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
सभामा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पारित हुने छ । हाल कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत छ भने सर्वसाधारणको शेयर अनुपात ४० प्रतिशत छ ।