काठमाडौं । काठमाडौं उपत्यकावासी अहिले दुई साताका लागि स्थानीय प्रसासनद्वारा जारी निषेधाज्ञाका कारण घरभित्रै थुनिएका छन्। जसले गर्दा दैनिक ज्याला मजदुरी गर्नेहरुको जीवन संकटमा परेको छ। तर, यो मानवीय संकट प्रति जनताको सबैभन्दा नजिकको सहारा मानिएको स्थानीय सरकार भने उदासिन देखिएको छ।
दैनिक मजदुरी गरेर छाक टार्दै आएका श्रमिक भने आज अन्तराष्ट्रिय श्रमिक दिवसको दिन समेत अत्यन्तै दयनीय अवस्थामा हात मुख कसरी जोड्ने भन्ने पिंडामा छन्। एकातिर काम पाइएको छैन अर्कोतिर किनेर छाक टार्ने यो वर्ग ब्यापारीले संकटको मौका उठाएर शुरु गरेको कालाबजारी र कृतिम अभावको पहिलो शिकार बन्न बाध्य छ।
आफ्नो नगरमा बसोबास गरेका बिपन्न नागरिकले यो बेला कसरी छाक टार्लान् भन्ने चिन्ताको क्लेसमात्र पनि स्थानीय सरकारमा नदेखिंदा आम नागरिकहरुको निरीहता झन् बढेको छ। दैनिक उपभोग्य सामग्रीको अभाव सिर्जना भइरहेका बेला काठमाडौं उपत्यकाका काठमाडौं र ललितपुरको स्थानीय प्रशासन यो विषयप्रति लाचार देखिएको छ । यो अवस्थामा महानगरपालिकाहरुले मजदुरी गर्ने वर्गको लागि अत्यावश्यक सेवा र उपभोग्य बस्तुको आपूर्तिबारे कुनै तयारी नगरेको काठमाडौँ र ललितपुर दुवै महानगरका अधिकारीहरु स्वीकार गर्छन्।
गत वर्ष पनि यो समयमा सरकारले गरेको तीन महिना लामो लकडाउनका कारण सबैभन्दा बढी मारमा मजदुर वर्ग नै परेको थियो। तर, त्यो बेला निषेधाज्ञा सुरु भएसँगै स्थानीय तह र विभिन्न संघसंस्थाहरुले गरिब मजदुर तथा आर्थिक रुपमा विपन्न वर्गलाई स्वास्थ्य सामग्री लगायत दैनिक उपभोग्य सामग्री वितरणको अभियान नै चलाएर सहयोग गरेका थिए। तर, यस वर्ष त्यस्ता कार्यक्रम संचालन गर्ने तदारुकता कहीं कसैले नदेखाउँदा मजदुर वर्ष भोको पेटमा श्रमिक दिवस मनाउन बाध्य छ।
काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका कार्यालयकाले आफ्नो नगरमा रहेका मजदुर वर्गले भोगिरहेको समस्यालाई समाधान गर्न कुनै तयारी अहिलेसम्म नगरेको जानकारी दिएको छ। काठमाडौँ महानगरपालिकाका सूचना अधिकृत बसन्त आचार्यले दैनिक मजदुरी गरेर खाने वर्गको लागी दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्ने सम्बन्धमा हालसम्म कुनै तयारी नभएको जानकारी दिए। त्यस्तै आफ्नो महानगरले पनि हालसम्म त्यस्तो कुनै व्यवस्था नगरेको ललितपुर महानगरपालिका सुचना अधिकृत रुद्र प्रसाद अधिकारीले बताए।
ललितपुर महानगर भित्र अत्यावश्यक सामग्रीको अभाव हुन नदिने गरी वितरण प्रणाली भने व्यवस्थित गरिएको उनले जानकारी दिए। उनले भने,’हामीले खाद्य लगायतका सामग्रीको अभाव हुन नदिने व्यवस्था गरेका छौं तर, नि:शुल्क वितरणको भने योजना बनेको छैन।’
पैसा भएका उपभोक्ताको हकमा भने निषेधाज्ञा खासै सकसपूर्ण नबन्ने देखिएको छ। अत्यावश्यक वस्तुहरुको आपूर्तिबारे निश्चिन्त रहन आपूर्ति विभागले सर्वसाधारणलाई आग्रह गरेको छ। उता साल्ट ट्रेडिङ कर्पोरेसनले पनि आफुहरुसंग प्रयाप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको छ। ‘साढे ९ महिनालाई पुग्ने राशन हामीसँग छ।’ साल्ट ट्रेडिङ कर्पोरेसनका सुचना अधिकृत कुमार राजभण्डारीले बताए। तर, चिनी भने दैनिक उपभोग्य पसलहरुलाई मात्र वितरण गरेको भएर समस्या नआएको उनले जानकारी दिए। चिनीको मौज्दात कम भएकाले आयात रोकियो भने चाहिँ समस्या आउन सक्ने प्रवक्ता भण्डारीले बताए।
यसबीच कर्पोरेशनले टोल टोलमा नै खाद्यान्न पुर्याउने समेत जनाएको छ। कर्पोरेशनले सुचना नै जारी गर्दै जनाएको छ- हालको विषय परिस्थितीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. ले आफ्नो दायित्ववोध गर्दै आम सर्वसाधारणलाई अत्यावश्यक दैनिक उपभोग वस्तु (नुन चिनी लगायत) हरु आफ्नै टोल छिमेकमा प्राप्त होस् भन्ने ध्येयले सानो प्रयास शुरु गरेको जानकारी गराउदछौ । यस अन्तर्गत डेलिभरी भ्यान मार्फत विभिन्न स्थानमा सामान लगी माइकिङ्गको माध्यमले सर्वसाधारणलाई जानकारी गराइ विक्री वितरण कार्य गरिदै आएको कर्पोरेशनले बताएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल र गहुँको मौज्दात प्रयाप्त रहेको भएपनि अझै यस्तो विषम परिस्थितीमा आवश्यक पर्न सक्ने भन्दै खरिदको प्रक्रियामा अगाडि बढाएको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले दिएको जानकारी अनुसार हाल सो कम्पनिसँग २९ हजार मेट्रिक टन भन्दा बढी चामल मौज्दात रहेको छ। थप ५ हजार मेट्रिक टन खरिद पक्रियामा रहेको
उनले बताइन् ।
त्यस्तै, गहुँ पनि ३ हजार मेट्रिक टन खरिद पक्रियामा रहेको भन्दै उपभोक्तालाई नआत्तिन समेत उनले आग्रह गरेकी छिन् । यदि लामो समय सम्म बन्दाबन्दि रह्यो भने उनले फेरी खरिद पक्रिया अगाडी बढाउने जानकारी दिईन् ।