शेयर बजारको फोको फुट्नु अघि नै कसरी सुरक्षित बन्ने ?

  • प्रकाशित मिति : २०७८ बैशाख १८, शनिबार
  • सीताराम भट्टराई

अहिले नेपालको शेयर बजार निकै उत्ताउलिएको छ। चैत्र २३ गते मङ्गलवार मात्र यसले हालसम्म कै उच्च बिन्दु चुम्यो। नेप्से परिसूचक २६५८.७४ पुग्दा यसले आफ्नो अघिल्लो दिनको रेकर्ड तोड्यो। जसबाट शेयर बजारका लगानीकर्ता निकै हौसिएका छन्। तर, चिनियाँ दार्शनिक कन्फुसियसले भने झैँ जब शेयर बजारका फोकाहरू फुट्छन्, अनि मात्र हामी थाहा पाउँछौँ कि हामी वास्तवमा कति बुद्धिमान रहेछौँ।

कन्फ्यूशियसले भनेका छन्, “बुद्धिमान मानिस शान्तिको बेला पनि सुरक्षामा खतरा आउन सक्छ भन्ने बिर्सँदैन। आर्थिक स्थिति बलियो भएको बेला पनि ऊ बर्बाद हुने सम्भावना बिर्सँदैन। जब सबै व्यवस्थित छ, त्यो बेला पनि हेक्का राख्छ कि व्याकुलता आउन सक्छ। यसैले उ कहिल्यै खतरामा पर्दैन र उसका सबै सन्तानहरू सुरक्षित रहन्छन्। ”

हाम्रो समाजमा विभिन्न खालका मानिसहरू सफल र सुखी छन्। उनीहरूको सफलता र सुख पैसा वा लगानीसँग सम्बन्धित छैन। हामी देख्न सक्छौँ पैसा बिना पनि धेरै मानिसहरू खुसी छन्। तिनीहरू बौद्धिकता वा मनोवैज्ञानिक स्थिरताको आधारमा हेर्ने हो भने धेरै धनी देखिन्छन् । तुलनात्मक रूपले हेर्ने हो भने त्यस्ता मानिसहरू सायद सबैभन्दा खुसी छन् किनभने दुर्भाग्यवश धेरै धनी मानिसहरू पैसाको बारेमा मात्र सधैँ चिन्ता लिन्छन् तर यसको आनन्द लिन सक्दैनन्।

यो आलेखमा मुख्य रूपमा धनलाई कसरी सुरक्षित गर्दै आनन्द लिने भन्ने सम्बन्धमा चर्चा गरिंदैछ।

देखा पर्दै छ चरम मुद्रास्फीति

वास्तविक सम्पत्तिहरू जस्तै घर-जग्गालाई मानिसहरूले आफ्नो सम्पत्तिको मानकका रूपमा हेर्ने गरेका छन्। तर, त्यसको मूल्यमा आउने उतार चढाव कति निकृष्ट हुन्छ भन्ने हामीले पनि भोगिसकेका छौँ। जग्गामा लगानी गरेकाहरू राष्ट्र बैङ्कको एउटा सानो निर्णयले कसरी आत्महत्या गर्नुपर्ने तहसम्म पुगे भन्ने विगत एक दशकमा हामीले अनुभूत गरिसकेका छौँ।

अहिले हामी खाद्यान्नको मूल्यमा ठुलो मुद्रास्फीतिको अवस्था देख्दैछौं। आशा गरौँ , कृषि योग्य जमिनले आउँदो वर्षहरूमा राम्रो गर्न सक्ने छन् तर घर घडेरीको कारोबार के होला ? अहिले नै पनि सहज अनुमान लगाउन सकिन्छ कि लक्षण राम्रो छैन। हामीसँग भएको व्यावसायिक र आवासीय सम्पत्तिमाथि यति बिघ्न विश्वास गरिरहेका छौँ कि बैङ्कले कर्जा प्रवाह गरे कै आधारमा मात्र त्यसको मूल्य बढिरहेको हो भन्ने नै हामी बिर्सन्छौँ। त्यस माथि केन्द्रीय बैङ्कले समेत यस्तो सम्पत्तिलाई धितोको रूपमा बिना कुनै हिचकिचाहट स्विकारेर कर्जा दिन रोकेको छैन। हामीले कृषि र अन्य उद्योगबाट उत्पादित वस्तुहरूमा उच्च मुद्रास्फीति देखिरहेका छौँ। पैसा (मुद्रा) दिन प्रतिदिन कमजोर बनिरहेको छ।

हाइपरइन्फलेसनले सिकाएको पाठ

शेयर बजारका पर्यवेक्षकहरू भन्ने गर्छन् कि हामी उच्च मुद्रास्फीति वा हाइपरइन्फलेसन सहज रूपमा देख्न सक्दैनौ। यो भनाईले के देखाउँछ भने तिनीहरू मुद्राको प्रभावलाई बेवास्ता गरिरहेका छन्। इतिहासमा हाइपरइन्फ्लेसनको प्रत्येक घटना मुद्राको मूल्यमा आएको गिरावटको परिणामको रूपमा देखा परेको छ। वस्तु र सेवाहरूको मागमा भएको वृद्धिको कारण वा केन्द्रीय बैङ्कको ब्याज दर नीतिमा आएको परिवर्तनले हाइपरइन्फ्लेक्सन हुने गरेको होइन। अर्थव्यवस्थाको सही प्रवर्धन नहुनु र मुद्राको मूल्यमा स्थिरता कायम हुन नसक्नुको परिणामस्वरूप हाइपरइन्फ्लेसनको अवस्था सिर्जना हुने गरेको देखिन्छ।

हामी देख्न सक्छौँ सबै प्रमुख मुद्राले सन् २००० देखि यता मात्र पनि सुनको तुलनामा आफ्नो क्रय शक्ति ८० देखि ८६ प्रतिशत गुमाएका छन्। अझ सन् १९७१ मा अमेरिकी राष्ट्रपति निस्कनले सुन र डलर बिच कायम भएको निश्चित बन्धन तोडेपछि आजसम्म आइ पुग्दा सबै मुद्राहरूले ९६ देखि ९९ प्रतिशतसम्म आफ्नो क्रय क्षमता गुमाएका छन्। यसबिच अर्जेन्टिना जस्ता हाइपरइन्फ्लेशनरी अर्थव्यवस्था भएको मुलुकको मुद्रा पेसोले त सन् २००० यता मात्रै ९९.९९ प्रतिशत आफ्नो मूल्य घटाएको देखिन्छ।

त्यसैले सुन वा त्यस्तै मूल्यवान् धातु भन्दा अरू त्यस्तो क्षेत्र छैन जसले लगानीकर्तालाई वास्तव मै सुरक्षित राख्न सकोस्। यो किन पनि भनिएको हो भने हामीले सोभियत सङ्घको विगठन हुँदा होस् या युगोस्लाभियामा भएको राजनीतिक परिवर्तनको बेला होस मुद्राले मानिसलाई नराम्ररी धोका दियो। तर, जसले आफूसँग सुन राखेका थिए उनीहरूले भने विषम परिस्थिति पछि पनि फेरी सुनलाई नगदमा रूपान्तरित गरेर व्यवसाय सञ्चालन गरे। आफूलाई नराम्ररी बर्वाद हुनबाट जोगाए।

सम्पत्ति सुरक्षाको उपाय

हामी हाम्रो व्यवसायकी क्रियाकलाप गर्दा धेरै यस्ता लगानीकर्ताहरू भेट्छौ जो जोखिमलाई कम गर्ने र धन संरक्षणमा बढी ध्यान दिने गर्छन्। यदि याद गर्नु भयो भने तपाइले यो पाउनु हुनेछ कि त्यस्ता मानिसहरू (लगानीकर्ताहरू) धेरै भन्दा धेरै सुन खरिद गर्छन्। उनीहरू किन यसो गर्छन् भने तिनलाई यो थाहा छ कि पुँजी बजारमा अत्यधिक जोखिम छ र सुनमा गरिएको लगानी सधैँ सुरक्षित हुन्छ । तिनीहरू वित्तीय र मुद्रा जोखिमको सत्यसँग सजग रहेर उनीहरूको सम्पत्तिको रक्षा र बीमा गर्न चाहन्छन्। यी लगानीकर्ताहरूले बैंकिंग प्रणालीभन्दा बाहिर भौतिक रूपमा भण्डार गरिएको बहुमूल्य धातुहरूलाई सम्पत्ति संरक्षणको अन्तिम उपायको रूपमा लिन्छन्।

तर, सुनमा लगानी गर्नेहरू त्यति धेरै भने छैनन्। संसारको वित्तीय सम्पत्ति को ०. ५ प्रतिशत भन्दा कम मात्र सुनमा लगानी भएको देखिन्छ । यसको मतलब यो हो कि लगानीकर्ताहरूको एउटा सानो हिस्साले मात्र आफ्नो सम्पत्ति सुनका रूपमा संरक्षित गर्ने गरिरहेको छ। तर, हामीले दिमागमा स्पष्ट रूपमा यो पनि राख्नु पर्छ कि विगत ५ हजार वर्ष देखी यदि मुद्राको रूपमा दिगो ढगले केही बाँचेको छ भने त्यो सुन मात्र हो।

फेरी कन्फ्युसियसलाई सम्झौँ

आर्थिक परिसूचकहरू आशालाग्दा नदेखिएको बेला, कोरोना महामारी रोक्न लगाइएको लकडाउनको खास प्रभाव अर्थतन्त्रमा देखिन बाँकी नै रहँदा जसरी अहिले हाम्रो शेयर बजार बेलुन झैँ फुल्दै छ, त्यो विस्फोट हुने निश्चित छ। अनि हामी खासमा कहाँ रहेछौँ भन्ने चेत्न बाध्य बन्ने समय आउनेवाला छ। त्यस कारण आउँदै गरेको आर्थिक र मुद्रा पतनको लागि कन्फ्युसियसले भने झैँ तयारीको अवस्थामा बस्नु जरुरी छ। कन्फ्युसियसले २५०० वर्ष अघि सिकाएको ज्ञानलाई ध्यानमा राख्दै पुँजी बजारबाट लगानीलाई सुनमा रूपान्तरण गर्दै सुरक्षित बन्ने कि !