काठमाडौं । अर्को पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि बीमा समितिले आवेदन माग गरेको छ । समितिले विहीबार सूचना प्रकाशित गरेर पुनर्बीमा कम्पनी सञ्चालन गर्न इच्छुकलाई आवेदन दिन आह्वान गरेको हो । समितिले प्रकाशित गरेको सूचनामा नयाँ पुनर्बीमा कम्पनी सञ्चालन गर्नका लागि चुक्ता पुँजी कम्तीमा १० अर्ब हुनुपर्ने उलेख गरेको छ ।
पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेका आवेदकले नयाँ पुनर्बीमा कम्पनीमा लगानी गर्न नपाउने भएका छन। साथै समितिले यसअघि पुनर्बीमा कम्पनीका लागि समितिमा दर्ता भएका सबै आवेदन रद्द गरिएको समितिले जानकारी दिएको छ । समितिले एउटा मात्रै पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो ।
आवेदन दिएका कम्पनीहरुलाई समितिले तयार पारेको मूल्यांकनका आधारमा धेरै नम्बर पाउने कम्पनीलाई पुनर्बीमा कम्पनी सञ्चालनको अनुमति दिइने समितिले जनाएको छ । सूचना प्रकाशित भएको २१ दिनभित्र खामबन्दी कम्पनी सञ्चालन गर्नलाई आवश्यक कागजात पेश गर्न पर्ने छ भने उक्त शिलबन्दी प्रस्ताव २१ औं दिनमा खोलिने समेत समितिको सूचनामा उल्लेख छ ।