शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा सात जना पक्राउ

  • प्रकाशित मिति : २०७८ बैशाख ७, मंगलवार
  • chhanbin.com

काठमाडौं । बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जानका लागि एसएलसीको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले सात जनालाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–५ सम्झनाचोक बस्ने सप्तरी विष्णुपुर गाउँपालिका–२ घर भएका २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो–६ घर भएका धनुषा जनकपुर महानगरपालिका–७ जिरोमाइल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, ललितपुर, ललितपुर महानरगपालिका–२ महालक्ष्मीथान बस्ने धनुषा सवैला नगरपालिका–५ घर भएका २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङ साबिक चामे गाविस–५ का ३१ वर्षीय दिपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका–३ बरगाछी बस्ने सप्तरी सकरपुरा–१ घर भएका ३१ वर्षीय अखिलेश कुमार देव, भक्तपुर मध्यपुर ठिमी–२ आदर्श बस्ती बस्ने महोत्तरी मनरा–५ घर भएका २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँ रहेको सिआईबीले जानकारी दिएको छ ।

शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जानको लागि एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्तांकलगायतका विवरणहरू सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाई सोही मार्कसिटहरूको आधारमा बंगलादेशमा एमबीबीएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिई आफ्नो व्यक्तिगत लाभको लागि नेपाल सरकारबाट जारी गरिने एसएलसीको मार्कसिट किर्ते गरी लिखतसम्बन्धी कसुर अपराध गरेको अनुसन्धानबाट खुल्न आएको उक्त ब्युरोले जनाएको छ ।

उनीहरूउपर लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जले जानकारी दिएको छ ।