नेकपा एमाले निकट विद्यार्थी संगठनको माग बजेट जनमुखी र विद्यार्थीको पक्षमा हुनुपर्ने

  • प्रकाशित मिति : २०७७ चैत्र २५, बुधबार
  • chhanbin.com

२५ चैत,काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बजेट जनमुखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग गरेको छ ।

अध्यक्ष ऐन महरसहितका नेताहरूले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकार समक्ष माग गरेका छन् ।

आगामी बजेटमा शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउन अनेरास्ववियुले अर्थमन्त्री विष्णु पौडेलसँगको भेटका क्रममा माग गरेको छ ।

अनेरास्ववियुले शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक तथा व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान हरेक बैंकका शाखाले न्यूनतम २० जना विद्यार्थीलाई सो प्रकृतिका ऋण उपलब्ध गराउन अनिवार्य व्यवस्था हुनुपर्ने माग समेत गरेको छ ।