खानेपानी महसुल निर्धारण आयोगमा पदाधिकारी नियुक्तिका लागि आवेदन खुला

  • प्रकाशित मिति : २०७७ चैत्र २५, बुधबार
  • chhanbin.com

२५ चैत,काठमाडौ। सरकारले खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

खानेपानी मन्त्राललयले बुधबार सूचना जारी गर्दै खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो।

मन्त्रालयले दरखास्त दिने म्याद १५ दिनको तोकेको छ। यस अवधिभित्र इच्छुकले आवेदन दिइसक्नु पर्ने उक्त सूचनामा उल्लेख छ।

सूचनामा लेखिएको छ, ‘खानेपानी महशुल निर्धारण आयोग ऐन, २०६३ को दफा ३ बमोजिमको समितिको अध्यक्ष एंव सदस्य पदमा नियुक्त भई कार्य गर्न ऐन बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट प्रस्तुत सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिने सकिने छ।’

एक अध्यक्ष र दुई सदस्यका लागि आवेदन खुला गरिएको हो। अध्यक्ष पदका लागि आवेदन दिने इच्छुक व्यक्तिको शैक्षिक योग्यता इन्जिनियरिङ्ग, व्यवस्थापन, अर्थशास्त्र वा वित्तिय व्यवस्थापनमा कम्तीमा स्नातक गरि सार्वजनिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी लिइ कम्तीमा १२ वर्षको अनुभव चाहिने सूचनामा उल्लेख छ।

यस्तै सदस्यका लागि अर्थशास्त्र, वित्तीय व्यवस्थापन वा विश्लेषण, चाटर्ड एकाउण्टेन्सी वा वाणिज्य शास्त्रमा कम्तीमा स्नातक गरि आर्थिक मूल्यांकन, लेखा वा वित्तीय विश्लेषण सम्बन्धी काममा कम्तीमा १० वर्ष कामको अनुभव हुनु पर्ने मन्त्रालयले जनाएको छ।

दोस्रो सदस्यका लागि इन्जिनियरिङ्ग, समाजशास्त्र वा कानून विषयमा कम्तीमा स्नातक गरि सम्बन्धित क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव भएको महिला, दलित र जनजाती हुनुपर्ने छ।