जेठ–असारमा कोरोनाको संक्रमण उच्च बिन्दुमा पुग्छ-स्वास्थ्यमन्त्री त्रिपाठी

  • प्रकाशित मिति : २०७७ चैत्र २३, सोमबार
  • chhanbin.com

२३ चैत,काठमाडौँ ।स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने कोरोना संक्रमण उच्च हुने बताएका छन्।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड प्रभावकारी बनाउन नसके आगामी जेठ–असारमा कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने बताएका हुन्।

उनले भने, ‘पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गइरहेको छ। अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च बिन्दुमा पुग्नसक्ने देखिन्छ।’

छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमण तीब्र भएको भन्दै त्यसतर्फ सचेत रहेको पनि उनले बताए। उनले भने, ‘ भारतमा देखिएको संक्रमणले हामीलाई थप सचेत र सतर्क बनाएको छ।’

कोरोना नियन्त्रणका लागि आवागमनलाई थप प्रभावकारी बनाउनुका साथै शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘कोभिड १९ लाई नियन्त्रण गर्नको लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शीघ्र पहिचान, आइसोलेशन र शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुका साथै समयका हिसाबले पर धकेल्न सकिने भएकोले त्यसतर्फ सबैको ध्यान जान जरुरी छ।’