२३ चैत,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद शशी श्रेष्ठले सरकारले नागरिकता विधेयक अघि बढाउन नचाहेको बताएकी छन्।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकारका कारण संसदले बिजनेश नपाएको बताइन्। नागरिकता जस्तो संवेदनशील विषयमा सरकार गम्भीर नबन्ने तर उल्टै संसदीय समितिलाई दोष दिने गरेको उनको गुनासो छ।
उनले भनिन्, ‘नागरिकता नागरिक र राज्यबीच सम्बन्ध स्थापित गर्ने कागजात हो। नागरिकता पाउनु हरेक नागरिरको अधिकार हो। यो जन्मसिद्ध अधिकार हो। नागरिकता विधेयक आफैँमा संवेदनशील विषय हो। यस विषयमा सरकार किन मौन रहेको छ? उल्टै समितिलाई दोष लगाउने काम भएको छ। संसदले अहिले बिजनेश पाएको छैन, अर्कोतिर नागरिकता विधेयक किन अघि बढाउन चाहँदैन सरकार?’
नागरिकता विधेयक सरकारले अघि नबढाउदा हजारौँ युवाहरु प्रभावित भएको उनको भनाइ छ।
‘१० महिनाअघि नै प्रतिवेदन पेश गर्ने तयारी गरेका थियौँ। साउन ७ गते समितिले पारित गरेको थियो। तर दशौँ हजार युवा प्रभावित भएका छैन्, जागिर खाएका छैनन्, खाएकाले पनि नागरिकता र प्यान नम्बर नहुँदा जागिरबाट हात धुनुपरेको अवस्थाको छ। यस विषयमा सरकार किन गम्भीर भएको छैन?,’ उनले भनिन्।
सरकारले संसदलाई काम नदिने तर नयाँ जनादेशको कुरा गर्ने गरेको उनले बताइन्।
उनले भनिन्, ‘बिजनेश नै छैन भनौँ भने दुईवटा सदनमा गरी ५५ वटा विधेयक विचाराधीन अवस्थामा छन्। अहिलेको संसदलाई काम नदिने, अनि ताजा जनादेशको कुरा गर्ने? यसरी देश अघि बढ्न सक्छ? हामीले विवेक प्रयोग गर्दा जितेका छौँ। अरुको दबाबमा पर्दा हारेका छौँ। हामी स्वविवकेबाट चल्न नसक्ने हो की भन्ने आशंका उत्पन्न भएको छ।’
श्रेष्ठ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति हुन्।