२२ चैत,काठमाडौँ। दक्षिण अफ्रिकाले दोस्रो एकदिवसीय खेलमा पाकिस्तानलाई १७ रनले पराजित गर्दै तीन खेलको शृङ्खलामा १–१ को बराबरी गरेको छ ।
कप्तान तेम्बा बाउमाको ९२ रन, क्विनटन डिकको ८०, रेसी वान डेर डुसेनको ६० तथा डेविड मिलरको ५० रनको मद्दतले दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४१ रन बनाएको थियो ।
जवाफमा पाकिस्तानले ९ विकेटको क्षतिमा ३२४ रन मात्र बनाउन सक्यो । फकर जमानले १५५ बलमा १९३ रनको विस्फोटक पारी खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् । योसँगै जमानले लक्ष्य पछ्याउँदै सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान बनाउन सफल भएका छन् ।
यसअघि यो कीर्तिमान शेन वाटसनको नाममा थियो । वाटसनले सन् २०११ मा बंगलादेशविरुद्ध नटआउट रहँदै १८५ रन बनाएका थिए । यसअघि धोनीले सन् २००५ मा श्रीलंकाविरुद्ध १८३ रन बनाएका थिए ।
३४२ रनको लक्ष्य पछ्याउँदै गर्दा पाकिस्तानले २४.३ ओभरमा १२० रनमा ५ विकेट गुमाइसकेको थियो । त्यसपछि फकर जमानले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई खेलमा फर्काएका थिए । १५५ बलमा उनले १८ चौका र १० छक्का हिर्काए ।
अब अर्को खेल ७ अप्रिलमा सेन्चुरियनमा खेलिनेछ ।