२२ चैत,काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले मुखले समाजवाद भनेपनि पुँजीवादको सेवामा समर्पित भएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौँ जिल्लाको समानान्तर जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले मुखले समाजवाद भनेर पूँजीवादकै सेवामा निरन्तर लागिरहेको बताएका हुन् । ‘केपी ओलीजी मुखले समाजवाद भन्नुहुन्छ तर उहाँ पुँजीवादको सेवा गर्न छोड्नुहुन्न । नवौँ महाधिवेशनले पारित गरेको विधानलाई पनि उहाँ मान्नुहुन्न’, नेता नेपालको भनाइ छ ।
उनले आफ्नो समूह श्रमजीवी ,बेरोजगार युवा, मध्यमवर्ग, राष्ट्रिय पुँजीपतिका पक्षमा भएको भन्दै ओली भजन मण्डली र गुट बनाउन तल्लिन रहेको पनि बताए ।
सिद्धन्तनिष्ट र क्रान्तिकारी पार्टी बनाउन लागेकाले आफूहरुको जीत सुनिश्चित रहेको पनि नेपालको दावी छ ।
उनले ओलीसँग आफ्नो व्यक्तिगत झगडा नरहेको भन्दै विचारको लडाइँ गरेको बताए । उनले कुन बेला कम्युनिस्ट पार्टी विसर्जन गर्ने हुन भन्ने भर नै नरहेको पनि बताए ।
विचार र संख्याको हिसावले पार्टीमा आफुहरु बहुमतमा रहेको भन्दै नेता नेपालले पार्टीमा विचार आफ्नो पारित भएपनि ओलीले अध्यक्षमा जितेर अहिले हैरान पारेको बताए ।