भर्ने हैन त आइपिओ ? आजदेखि बजारमा नयाँ कम्पनीको सेयर

  • प्रकाशित मिति : २०७७ चैत्र २०, शुक्रबार
  • chhanbin.com

२० चैत्र, काठमाडौँ | रुरु जलविद्युत परियोजना लिमिटेडले आजदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकि रहने ३ लाख ७९ हजार १६० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले शेयरमा चैत २४ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार आवेदन नपरे बैशाख ३ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा एनआईबिएलएस क्यापिटल रहेको छ।

मध्यम रुपमा सुरक्षित रहेको जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

इक्रा नेपालले परियोजनालाई २०७७ साउन १५ गते रेटिङ्ग प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहनेछ।

कस्तो कम्पनी हो?

रुरु जलविद्युत परियोजना कम्पनी ऐन २०६३ अनुसार २०६२ चैत ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई २०७२ साउन ७ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका – १, हात्तिसारमा रहेको छ भने आयाेजना गुल्मीको चन्द्रकोट गाँउपालिका र गुल्मी दरबार गाँउपालिकामा रहेको छ।

कम्पनीले गुल्मीको चन्द्रकोट गाँउपालिका वडा नं. ६ र ७ मा माथिल्लो हुग्दी खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ। रनअफ रिभरमा आधारित आयोजनाले २०७० चैत ९ गते देखिनै ५ मेगावाटको क्षमताको विद्युत उत्पादन गर्दै आईहरको छ।

कम्पनीले सञ्चालन गरेको आयोजना निर्माण सम्पन्न भएर उत्पादन समेत शुरु भइसकेकोले आईपीओ जारी गरेर संकलन भएको रकम कर्जा भुक्तानीमा प्रयोग हुने जनाएको छ।