एकाबिहानै माधव नेपाल माथि व्यंग्य

  • प्रकाशित मिति : २०७७ चैत्र २०, शुक्रबार
  • chhanbin.com

२० चैत्र, काठमाडौँ | नेकपा एमालेमा ओली पक्षका नेता शंकर पोखरेलले पार्टीमा अहिले भइरहेको अन्तरसंघर्ष नवौं महाधिवेशनमा माधवकुमार नेपाल हारेको तोड भएको टिप्पणी गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत नेता नेपाललाई कटाक्ष गरेका हुन्।

‘बुटवल अधिवेशनबाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने विधान बनाइयो। तर नवौं अधिवेशनमा माधव कमरेड आफैं चौथो कार्यकालका लागि उमेदवार बन्नुभो र चुनाव हार्नुभो,’ पोखरेलले ट्विट गरेका छन्, ‘आज एमालेभित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ।’

अदालतको फैसला आएको एक हप्ता पनि नबित्दै ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय कमिटीको बैठक राखी माधव नेपाल र झलनाख खनाल पक्षका पद र जिम्मेवारी मात्र खोसेनन् गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यसमेत बनाए।

जसका कारण रुष्ट बनेको नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलालगायत छुट्टै गतिविधि गरिरहेको छ, समानान्तर कमिटी बनाइरहेको छ। यही आरोपमा ओलीले नेपाल पक्षका नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यतबाट समेत निलम्बन गरिसकेका छन्। एमाले लगभग फुट्ने संघारमा पुगिसकेको छ। यसैकारण अहिले ओली र नेपाल पक्षका नेताबीच एकअर्कालाई आरोप–प्रत्यारोप चलिरहेको हो।