१७ चैत, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । पार्टी अध्यक्ष केपी ओलीले नै पार्टी विभाजन गर्न खोजेको भन्दै उनले कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ? भन्ने प्रश्न गरेका छन् ।
उपमहासचिव भुसालले पार्टी अध्यक्ष ओलीले नै एमालेमा विभाजनको रेखा कोरेको आरोप लगाएका छन् । २८ फागुनमा आफ्ना गुटका मानिसहरु मात्र भेला गरेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी हेरफेर, २३ जना केन्द्रीय सदस्य मनोनयन र संविधान संशोधन जस्ता निर्णय गरेर अध्यक्ष ओलीले नै पार्टी विधानको उल्लंघन गरेको उनको आरोप छ । उनले भनेका छन्, ‘त्यहीबाट पार्टीमा विभाजनको रेखा कोरिएको छ ।’
उनले थपेका छन्, ‘नेतृत्वमा बसिरहनका लागि हाम्रा मुख्य नेताहरुले पार्टीको विधि भत्काउने र पार्टीलाई अस्तव्यस्त पार्ने काम गरेनन् । तर तपाईँले यो परम्परालाई भत्काउँदै हुनुहुन्छ । आफले छोड्नु पर्छ भने कुर्ची नै भाँचिदिन्छु भन्ने तपाईँले नै भनेको वाक्य नै तपाईँको जीवन दर्शन भएको छ ।’