१२ चैत्र, चितवन । चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।
कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जनाएको छ ।
कलेजका अनुसार लामाकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो दिएकी हुन् । भरतपुर घर भए पनि लामाको परिवार काठमाडौं बस्दै आएको थियो ।
कलेजका विषेशज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा.बरुण श्रेष्ठ, डा. सागर पौडेल, डा. नवीन यादव, डा. सुरेश गौतम, डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा. निरज गोयल, डा. अरुणकुमार, डा. सञ्जीव अनिजालगायतको टिमले गत चैत्र ८ गते १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।
चिकित्सकका अनुसार लामाको स्वास्थ्य जाँच गराउदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प थिएन ।
बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीको छोरी उषाको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको चिकित्सकले बताए ।
करिब १ वर्ष अघिदेखि काठमाडौंमा कलेजोसम्बन्धी नियमित जाँच गर्दै आएकी धनकुमारी लामाको ‘क्रोनिक लिभर डिजिज्’को कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो ।
हाल कलेजो ग्रहण गर्ने आमा र कलेजो दान गर्ने छोरी दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको कलेजले जनाएको छ ।
शल्यक्रियामा आवश्यक रगत नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय चितवनले उपलब्ध गराएको थियो ।
विगत केही वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति, कलेजो रोगको उपचार तथा प्रत्यारोपण सम्वन्धी विषेशज्ञहरुको व्यवस्थापन गरेको थियो ।
प्रत्यारोपणका लागि कलेजमा ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सकहरु छन् ।
कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी रोगको उपचार र प्रत्यारोपणका लागि दक्ष जनशक्तिको टिम तयार भैसकेको बताए ।
केही वर्षदेखि चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी नियमित जाँच विषेशज्ञ चिकित्सकबाट हुँदै आएको छ । कलेजले प्रत्यारोपणका लागि अलग्गै शल्यक्रिया कक्ष र आईसीयू तयार गरेको छ ।
‘राजधानी बाहिर नै पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गराउन सफल भएकोले राजधानी जानुपर्ने बाध्यताको अन्त्य पनि हुँदैछ, चितवनलाई कलेजो प्रत्यारोपणको हव बनाउने हाम्रो प्रयासको सुरुवात भएको छ,’ प्रा. डा. न्यौपाने भने, ‘यसले राष्ट्रियरूपमा नै सकारात्मक सन्देश, कलेजोका बिरामीलाई जीवनप्रतिको भरोसा एवम् नयाँ आशाको सञ्चार गराउने विश्वास हामीले लिएका छौं ।’
कलेज प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने कलेजले जनाएको छ । सरकारले कलेजो प्रत्यारोपण गराउने बिरामीलाई सरकारले केही सहयोग गरे अझै सस्तोमा गर्न कलेज तयार रहेको डा. न्यौपानले बताए ।
उनले कानुनी जटिलताहरुलाई फुकाउँदै सहज बनाएर केही सहयोग गरे प्रत्यारोपणको दर नेपालमा नै बढाउन सकिने डा. न्यौपाने बताउँछन् । उनले केही समयपछि कलेजले १५ लाख भित्र नै प्रत्यारोपण सेवा दिने बताए ।
यो रकम भारतमा प्रत्यारोपण गराएको भन्दा निकै कम भएको कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले दाबी गरे । ‘नेपालभित्र नै भएकोले फलोअपमा आउँदासमेत भारतमा जानुभन्दा कम खर्च हुन्छ, सहज पनि भयो,’ प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने, ‘स्वदेशी जनशक्ति, सस्तो रकम र निरन्तरको फलोअप हुने भएकोले यसबाट बिरामीलाई फाइदा हुने विश्वास लिएका छौं । ‘
लामा कलेजो प्रत्यारोपण गर्ने आठौं बिरामी
चितवन मेडिकल कलेजमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गराउने धनकुमारी लामा नेपालमा नै कलेजो प्रत्यारोपण गराउने आठौं बिरामी हुन ।
यसअघि, त्रिवि शिक्षण अस्पतालमा पाँचजना र मानव अंग प्रत्यारोपण केन्ऽमा दुई जनामा कलेजो प्रत्यारोपण गरिएको छ ।
पछिल्लोपटक गत फागुन ३० गते त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुमा कलेजो प्रत्यारोपण गरिएको थियो ।
नेपालमा २०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बलराम नागाको पहिलोपटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको थियो ।
चिकित्सा विज्ञानमा जटिलतम सेवामध्ये मानिने कलेजो प्रत्यारोपणका लागि नेपालमा चारवटा स्वास्थ्य संस्थाले अनुमति पाएका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिले सरकारीस्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्ऽ र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपण अनुमति दिएको छ भने निजीस्तरमा चितवनको चितवन मेडिकल कलेज भरतपुर र कलेज अफ मेडिकल साइन्सेस् नेपाललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको छ ।
कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपालने ८ देखि १० वटा प्रत्यारोपणपछि भारतीय चिकित्सकहरुको संलग्नताविना नै प्रत्यारोपण गरिने बताए ।
परनिर्भरता हट्ने विश्वास
नेपालबाट वर्षनी महँगो शुल्क तिरेर भारतमा कलेजो प्रत्यारोपणका लागि जाने गरेको अवस्था छ । वार्षिक औसत ६० जना बिरामीहरू प्रत्यारोपणका लागि भारत जाने अनुमान छ ।
भारतमा हुने प्रत्यारोपणको खर्च भने निकै महँगो छ । नेपालमा नै प्रत्यारोपणको दरलाई बढाउने सहज अवस्था तयार भएमा भारतको भर पर्नुपर्ने बाध्यताको अन्त्य छिट्टै हुनेछ । त्यसका लागि सहज कानुनी व्यवस्था र राज्यको अभिभावकीय भूमिका अति महत्वपूर्ण छ । नेपालमा हरेक वर्ष हजार जनाको कलेजो फेल हुने अनुमान छ ।
सामान्यतया कलेजो दूषित पानी र खानाबाट नै बिग्रन्छ । साथैं हेपाटाइटिस ‘बी’ र ‘सी’ जो रगतको माध्यमबाट पनि सर्दछ यसलाई ‘साइलेन्ट किलर’ भनेर बुझ्ने गरिन्छ ।
एक तथ्यांक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण बिग्रने चिकित्सक डा. सञ्जय यादवले बताए । मधुमेहका कारण कलेजोमा बोसो जमेर कलेजो बिग्रने गर्दछ ।
मानव शरीरमा ५० देखि ६० प्रतिशत कलेजो बिगि्रसकेपछि मात्र यसको लक्षण देखिने चिकित्सकहरु बताउँछन् । त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल हुन्छ । त्यसैले कम्तिमा पनि वर्षमा एकपटक कलेजको अवस्था के छ भनेर जाँच गराउनु राम्रो मानिने चिकित्सकहरुको भनाइ छ ।
नाबालकले नाबालकलाई, वयस्कले वयस्कलाई, बालकले वयस्क वा वृद्धलाई सजिलै दिन सकिने कलेजो प्रत्यारोपण ६५ वर्षसम्मका उमेर भएका मानिसले सजिलै दान गर्न सक्ने चिकित्सक डा. सञ्जय यादवले बताए ।
उनले एक जनाबाट ६० देखि ६५ प्रतिशतसम्म कलेजो निकालेर प्रत्यारोपण गर्न सकिने बताए ।
कलेजोमा ६० प्रतिशतभन्दा बोसो जमेको बाहेक अन्यले पनि सजिलै दान दिन सक्ने डा. यादवको भनाइ छ ।
कुनै पनि व्यक्तिलाई स्वस्थ्य मानिसले कलेजो दान गर्दा उक्त व्यक्तिको मृत्यु हुने सम्भावना जम्मा ०.०२ प्रतिशतमात्र हुने गर्छ, अर्थात दश हजार जनामध्ये दुईजनाको मात्र मृत्यु हुने तथ्यांक छ ।
‘कलेजो आफै विकसित हुने अंग भएकोले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि नै यो बिरामीको पेटमा आफैं विकसित हुन्छ,’ कलेजो सर्जन डा. एकानन्द सिंहले भने, ‘करिब छ महिनामा झण्डै ९० प्रतिशत कलेजोको विकास हुन्छ । यसले गर्दा कलेजो प्रत्यारोपण गरिएको बिरामीले पुनः पहिले जस्तै जीवन जीउन सक्छ ।’