राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने लाई ७ दिनभित्र हस्ताक्षर फिर्ता गर्न संसदीय दलको निर्देशन

  • प्रकाशित मिति : २०७७ चैत्र ११, बुधबार
  • chhanbin.com

११ चैत,विराटनगर। मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने आफ्ना सांसदलाई ७ दिनभित्र हस्ताक्षर फिर्ता गर्न एमाले संसदीय दलले निर्देशन दिएको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बुधबार बसेको बैठकले मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षर गरि टेबल गरिएको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको जानकारी दिए।

बैठकले संसदीय दलको विधान समेत पारित गरेको बताएका प्रमुख सचेतक राजभण्डारीले संसदीय बोर्ड समेत गठन गरिएको बताए।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सदस्यहरुलाई ७ दिनभित्र हस्ताक्षर फिर्ता गर्न निर्देशन गरेको राजभण्डारीले बताए।

हस्ताक्षर फिर्ता नभएको खण्डमा बोर्ड गठन गरिएको हुँदा अहिले नै के हुन्छ भन्नेतर्फ आफूहरुले नसोचेको उनले प्रस्टाए।

त्यसैगरि, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीले अविश्वासको प्रस्ताव फिर्ता हुने बताए। उनले भने, ‘यहाँ व्यक्तिगत रुपमा नभएर सामूहिक रुपमा एमालेको पक्षमा अविश्वासको प्रस्ताव फिर्ता हुन्छ। सर्वोच्च अदालतले नै पुरानो अवस्थामा फर्कनु भनिसकेको अवस्थामा ब्यक्तिगत रुपमा अल्झिनेतर्फ हामी केन्द्रित छैनौँ।’

बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधवकुमार नेपाल पक्षका प्रदेशसभासदस्य अधिकारी र तुलसी न्यौपाने उपस्थित रहेका थिए।

त्यसैगरी, माओवादीतर्फका प्रदेश सभासदस्य टंक आङबुहाङपनि बैठकमा सहभागी रहेका थिए।

गत पौष १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरिएको थियो।

प्रदेशसभामा एमालेको तर्फबाट ५१ जना सदस्य छन्।