१०चैत,काठमाडाैँ । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म अहिलेको संसदको अपमान र तिरस्कार बढ्दै जाने बताएका छन्।
मंगलबारको प्रतिनिधसभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री ओलीले अहिलेको संसदसँग बदला लिन खोजेको आरोप लगाएका हुन्।
उनले भने, ‘हामी स्पष्ट छौँ– जतिदिन यो सरकार रहन्छ, संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ। किन कि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ।’
संसदको गरिमा कायम गर्न आफ्नो ठाउँबाट डटेर लाग्नेसमेत उनले बताए। उनले संसद र सांसदको अपमान गर्नु भनेको जनताको अपमान गर्नु भएको टिप्पणी गर्दै यसको हिसाब जनताले उचित समयमा गर्ने बताए।
उनले भने, ‘हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौँ।
बाँकी जिम्मा जनताको हो, यथोचित समयमा जनताले यसको हिसाब किताब गर्नेछन्। किनकि यो संसद र सांसदको अपमान, यो लोगो लगाउने एक थान सांसदको अपमान तिरस्कार र उपेक्षा होइन। यो ती जनताको अपमान हो, जसले यो संसद बनाएको छ, जसले हामीलाई सांसद बनाएको छ।
आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्। यो संसदभित्र बसेर यसको गरिमा जोगाउन हामी आफ्नो ठाउँबाट डटेर लड्ने छौँ।’
प्रतिनिधिसभा भंग गर्ने काम सही छ भन्ने स्थापित गर्ने सरकारले संसदलाई कामविहीन बनाएको उनको भनाइ छ।
उनले भने, ‘कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग, अनि प्रतिनिधिसभा भंग गर्ने सनक सही छ भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च।
हामी काम गर्न तयार छौँ। एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने तर संसदलाई एउटा विधेयक पनि नदिने। अनि विधेयकलाई कानुन बनाउनको लागि चाहिने राष्ट्रिय सभाको बैठक पनि नबोलाउने।’